GB Koirala Banner Ad New

ब्याजदर बढाए पनि बैङ्कहरूको निक्षेप सङ्कलन अझै घट्दो क्रममा

ब्याजदर बढाए पनि बैङ्कहरूको निक्षेप सङ्कलन अझै घट्दो क्रममा
काठमाडौँ । वाणिज्य बैङ्कहरूले निक्षेप तान्न ब्याजदर बढाए पनि कात्तिक अन्तिम साताको तुुलनामा मङ्सिरको पहिलो सातामा निक्षेप सङ्कलन आठ अर्ब रुपियाँले कमी आएको छ । केही समययता निरन्तर घट्दो क्रममा रहेको बैङ्कहरूको निक्षेप सङ्कलन अझै घट्दो क्रममा नै रहेको छ भने कर्जा प्रवाह बढिरहेको छ ।

नेपाल बैङ्कर्स सङ्घका अनुसार मङ्सिर पहिलो सातामा बैङ्कहरूको निक्षेप सङ्कलन आठ अर्ब रुपियाँले घटेको छ । कात्तिक अन्तिमसम्ममा २७ वटा वाणिज्य बैङ्कमा ४२ खर्ब ३३ अर्ब रुपियाँ निक्षेप रहेकामा मङ्सिरको पहिलो तीन दिनमा ४२ खर्ब २६ अर्ब रुपियाँ कायम भएको छ । यसमा स्वदेशी निक्षेप पाँच अर्बले घटेको छ भने विदेशी रुपियाँको निक्षेप दुुई अर्ब रुपियाँले कमी आएको छ ।

सङ्घका अनुुसार निक्षेप सङ्कलन घटिरहँदा बैङ्कहरूको कर्जा लगानी भने बढ्दो क्रममै देखिएको छ । मङ्सिरको तीन दिनमा कर्जा लगानी सात अर्ब रुपियाँले बढेको छ ।
चालू आर्थिक वर्ष २०७८/०७९ लागेदेखि वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन जम्मा २४ अर्ब रुपियाँले बढेको छ भने कर्जा लगानी तीन खर्ब २० अर्ब रुपियाँले बढेको छ ।

निक्षेप सङ्कलन बढ्न नसक्दा बैङ्कहरूको सीडी रेसियो सीमाभन्दा माथि पुगिसकेको छ । मङ्सिर ३ सम्ममा बैङ्कहरूको औसत सीडी रेसियो ९०.५७ प्रतिशत पुगेको छ । राष्ट्र बैङ्कले आगामी असार मसान्तसम्ममा बैङ्कहरूले सीडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

गत असार मसान्तसम्ममा वाणिज्य बैङ्कहरूमा ४२ खर्ब एक अर्ब निक्षेप रहेकामा मङ्सिर ३ गतेसम्म आइपुग्दा ४२ खर्ब २६ अर्ब पुगेको छ । त्यस्तै गत असार मसान्तसम्ममा ३७ खर्ब २१ अर्ब कर्जा परिचालन गरेका बैङ्कहरूको कर्जा विस्तार ४० खर्ब ४१ अर्ब पुगेको छ ।

मङ्सिर १ देखि सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैङ्कले ब्याजदर अधिकतम बिन्दु १०।०५ प्रतिशतमा पु¥याएका छन् । ब्याजदर निर्धारण गर्नु अगावै राष्ट्र बैङ्कले ब्याजदर निर्धारणमा नयाँ सर्कुलर जारी गरेपछि धेरै बैङ्कको निक्षेप ब्याजदर १०.०५ प्रतिशतमा अडिएको थियो ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क र मेगा बैङ्कको भने मुद्दती निक्षेपको ब्याजदर एकल अङ्कमा रहेको छ । राष्ट्रिय वाणिज्य बैङ्कको मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा कम ९.११ प्रतिशत रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको मुद्दती निक्षेपको ब्याजदर ९.५ प्रतिशत र मेगा बैङ्कको ९.९६ प्रतिशत रहेको छ ।

लक्ष्मी, सिद्धार्थ, प्राइम कमर्सियल, एनएमबी, कुमारी, हिमालयन, सेन्चुरी, माछापुच्छे«, सिभिल, सानिमा, कृषि विकास, सनराइज, ग्लोबल आईएमई, नेपाल, प्रभु, नेपाल बङ्गलादेश (एनबी) , नेपाल एसबीआई बैङ्कको मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने १०.०५ प्रतिशत छ ।