GB Koirala Banner Ad New

राष्ट्रिय बीमा कम्पनी आठौँ वर्षमा

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड सोमबारदेखि सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आठौँ वार्षिकोत्सवका अवसरमा एक कार्यक्रम आयोजना गरी मनाएको छ ।

कारोनाका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको र अनौपचारिक रूपमा कम्पनीको सञ्चालक समितिको कार्यकक्षमा कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायको आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू तथा कम्पनीका उच्च पदस्थ कर्मचारी लगायत अन्य कर्मचारीहरूको सामाजिक दूरी कायम गरी उपस्थिति रहेको थियो ।

कम्पनीको आठौँ वार्षिकोत्सव मूल आयोजक समितिका विविध कार्यक्रम भएका थिए । वार्षिक कार्यक्रम अन्तर्गत कम्पनीमा गत आर्थिक वर्षमा बीमा शुल्क प्रदान गर्ने अभिकर्तामध्ये सर्वोत्कृष्ट १० जना अभिकर्तालाई नगद पुरस्कार सहित सम्मानको घोषणा गरिएको थियो ।

अभिकर्ताको सम्मान कार्यक्रम भनेपछि कुनै उपयुक्त समयमा गर्ने प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले जानकारी गराउनुभयो ।

लामो समयदेखि थाती रहेको लेखा परीक्षण कार्यलाई उच्च प्राथमिकतामा राखी अघि बढाइएको भन्दै उहाँले आर्थिक वर्ष २०६८/६९ देखि आव २०७२/७३ को लेखा परीक्षण सम्पन्न गरी वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पठाइएकामा आव २०७०/७१ सम्म ती वर्षको वित्तीय विवरणको स्वीकृति प्राप्त भएको र बाँकी दुई वर्षको स्वीकृतिका क्रममा रहेको जानकारी दिनुभयो ।

महालेखा परीक्षकको सिफारिसमा नियुक्त लेखा परीक्षकबाट कम्पनीको आव २०७३/७३ को प्रारम्भिक लेखा परीक्षण प्रतिवेदन प्राप्त भई अन्तिम प्रतिवेदन प्राप्त हुने क्रममा रहेको उहाँले बताउनुभयो । आव २०७४/७५ र २०७५/७६ को बाह्य लेखा परीक्षणको कार्य अन्तिम चरणमा पुगेको पनि उहाँले जानकारी दिनुभयो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष उपाध्यायले कम्पनीका सम्पूर्ण सरोकारवालालाई कम्पनीको वार्षिकोत्सवको शुभकामना दिनुभएको थियो । उहाँले कम्पनीको भावी कार्ययोजना तथा अन्य विषयमा जानकारी गराउनुभयो ।