GB Koirala Banner Ad New

बीमा व्यवसायलाई वृद्धि गर्ने नीति सरकारले ल्याउन सकेको छैन


सञ्चित बज्राचार्य

प्रमुख कार्यकारी अधिकृत
प्रभू इन्स्योरेन्स लिमिटेड

सञ्चित बज्राचार्यले लामो समयदेखि प्रभु इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । उहाँ प्रभु इन्स्योरेन्समा करिब एक दशकदेखि कार्यरत हुनुहुन्छ । बीमा क्षेत्रमा लामो अनुभव सँगाल्नु भएका बज्राचार्यसँग यस क्षेत्रका चुनौती, अवसर, आगामी योजना लगायत विषयमा  गरेको कुराकानी :

प्रभू इन्स्योरेन्स लिमिटेडको स्थापना कहिले भएको थियो रु देशभर यसका कति शाखा, उपशाखा र काउन्टरहरु रहेका छन ?
प्रभू इन्स्योरेन्स लिमिटेड २०५३ साउन ११ गते (सन् १९९६)मा स्थापना भएको बीमा कम्पनी हो । स्थापनाको करिव २५ बर्ष पुरा गरि २६ औं बर्षमा हामी पुगिसकेका छौं । देशभर ५६ वटा शाखा, उपशाखा र काउन्टर सञ्चालनमा रहेका छन ।

केन्द्रीय कार्यालय तीनकुने काठमाडौंमा छ । शाखाहरु न्यूरोड, कुमारीपाटी, चावहिल, गोंगवुँ, सूर्यविनायक, बनेपा, पोखरा, नारायणघाट, हेटौंडा, बीरगञ्ज, इटहरी, बिराटनगर, बुटवल, दाङ तुलसीपुर, नेपालगञ्ज, धनगढी, मुस्ताङ, बागलुङ, बेनी, स्याङजा, बालिङ, तम्घास, चरिकोट, बिर्तामोड, धरान, सुर्खेत, भैरहवा, नुवाकोट, दमौलीमा शाखा, जनकपुर, लहान, धाडिङवेसी, किर्तीपुर, मलंगवा, वेशीशहर, कुश्मा दमक, गार्इघाट, काकडभिट्टा, कटारी, वर्दिवास, रामेछाप, गोरखा, कावासोती लगायत ठाउँमा उपशाखा र यातायात कार्यालयहरु रहेका ११ ठाउँमा बिर्तामोड, इटहरी,वर्दिवास, जनकपुर, लहान, एकान्तकुना, सल्लाघारी भक्तपुर, सानोभरयाङ स्वयम्भू, सतुंगल, बुटवल र नेपालगञ्ज यातायात कार्यालयहरुमा सेन्टर रहेका छन । यसरी देशव्यापी रुपमा नेटवर्क विस्तार भएको छ । अझ विस्तार गर्ने योजना रहेको छ ।

प्रभू इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी कति छ ?
अधिकृत पुँजी १ अर्व ५० करोड र चुक्ता पुँजी १ अर्व ५ करोड ५३ लाख ३ हजार रहेको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ को आठ महिनामा व्यापार व्यवसायको अवस्था कस्तो छ ?

चालु आर्थिक वर्षको आठ महिनामा व्यवसाय सन्तोषजनक छ । कारोबार, बीमा रकम र बिमितको संख्या बढेको छ ।

 

बिमितको संख्या र शुल्क उठतिको अवस्था कस्तो छ ?

बिमितको संख्या कहिले काँही थपघट हुन सक्छ तर बीमा शुल्क गत आर्थिक बर्षको भन्दा वृद्धि भएको छ ।

 प्रभु इन्स्योरेन्स लिमिटेड.ले के कस्ता बीमा गर्ने गर्दछ ?

हाम्रो कम्पनी निर्जिवन बीमा कम्पनी हो । यस कम्पनीले अग्नी बीमा, ग्रार्हस्थ बीमा, मोटर बीमा, सामुन्द्रीक बीमा व्यक्तिगत दुर्घटना बीमा, यात्रा बीमा, शेरमारी तथा नकबजनी बीमा, मार्गस्थ नगद बीमा, निष्ठा जमानी बीमा, बिद्यार्थी सुरक्षा बीमा, ठेकेदार सम्पूर्ण जोखिम बीमा, इरेक्सन सबै जोखिम बीमा, सामुन्द्रीक तथा इरेक्सन बीमा,मेसिनरी ब्रेक डाउन बीमा, इलेक्ट्रोनिक उपकरण बीमा, हवाई बीमा,माइक्रो लघु बीमा,औषोधोपचार बीमा, जनदायित्व बीमा, श्रमिक मूअब्जा बीमा,घरेलु पशुपन्क्षी बीमा, अर्थात बाली तथा पशुधन बीमा, बैकर्स ब्लैङकेट बीमा जस्ता बीमा गर्दै आएको छ ।
यस बीमा कम्पनीमा संस्थापक लगानीकर्ताको के कति लगानी रहेको छ ?
कर्मचारी सञ्चय कोषको १५, देवीप्रकाश भट्टचनको ११.४९, प्रभु मेनेजमेन्ट प्रा. लि. को ९.२०, प्रभु बैंक लिमिटेडको ६.०६, राजेन्द्र मल्लको ३.७४, प्रभु ग्रुप प्रा.लि.को ३.७३ र पुर्णमान शाक्यको २ प्रतिशत शेयर रहेको छ ।

संगठित संघ–संस्थाको ३६, नेपाली नागरिकको १५ गरि संस्थापक शेयरधनीको ५१ प्रतिशत र सर्वसाधारण नेपाली जनताको ४९ प्रतिशत शेयर रहेको छ । सञ्चालक समितिको अध्यक्षमा कुसुम लामा, सदस्यहरुमा निरज लम्साल, रेनु प्रसाद पाण्डे, विजय श्रेष्ठ, रणकेशव प्रधान, ओमकृष्ण श्रेष्ठ, राजेन्द्र मल्ल, राजगोपाल राजभण्डारी, कृष्णबहादुर कुँवर रहनु भएको छ ।

तत्काल यस कम्पनीको वित्तीय अवस्था कस्तो छ ?
चालु आर्थिक वर्षमा व्यवसाय तथा वित्तीय सुचाङ्कहरुमा वृद्धि गर्दै कम्पनीको रणनीति अनुरुप कार्य योजना कार्यान्वयन गर्दै आएको छ । हामीले शाखा सञ्जाल विस्तार गर्दै सर्वसाधारणको लागि बीमाको पहुँच वृद्धि गर्ने योजनाका साथ कम्पनीको केन्द्रीय कार्यालय, शाखा, उपशाखा एवं एक्सटेन्सन काउन्टर सहित ५६ स्थानबाट सेवाग्राहीलाई बीमा सेवा प्रदान गरिरहेका छौं ।

थप शाखा विस्तार गर्न सम्भाव्यता अध्ययन गरि नियमनकारी निकायबाट शाखा कार्यालय स्थापनाको स्विकृती प्राप्त गरेका छौं । संस्थागत सुशासन अनुपालन तथा उच्चस्तरीय ग्राहकसेवालाई व्यवसाय विस्तारको केन्द्रविन्दुमा राखी कम्पनीले आफ्नो कार्ययोजना तथा रणनीति बनाई लागु गर्दै आएको छ ।

व्यवस्थापकीय सुधार मार्फत सबल संरचनात्मक प्रणालीबाट कम्पनी सञ्चालन गर्ने अभिप्रायका साथ असल व्यवसायिक नैतिकता, डिजिटाईजेशन, ग्राहक केन्द्रीत सेवा र गुणस्तरिय सेवा लगायत कम्पनीको समग्र प्रणालीलाई गति दिन हामी सफल भएका छौं ।

बीमा क्षेत्रको तिव्र प्रतिस्पर्धाका वीच कम्पनीको पूँजी वृद्धि, खर्च र व्यवसाय विस्तारलाई समूचित व्यवस्थापन गरि दिगो, सुरक्षित र दिर्घकालीन लक्ष्य प्राप्तीको लागि अगाडी बढी रहेका छौं । आफ्ना समस्त ग्राहकवर्गलाई आवश्यक सेवाहरु छिटो छरितो ढंगले प्रदान गर्दै सरकार र नियमनकारी निकायले लिएको नीति अनुरुप बीमा क्षेत्रमा टेवा पुरयाउन कतिवद्ध छौं । आधुनिक बीमा सेवाका सबै प्रविधीहरु प्रयोग गरि प्रविधीमा आधारित बीमा सेवा स्थापित गर्दै जोखिम व्यवस्थापन, कर्मचारी व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सबल बनाउनुका साथै प्रभावकारी सेवा सुविधाहरु दिने तर्फ जोड दिएका छौं । अधिल्लो आ.व.मा हामीले २०७५/०७६ को मूनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांस वितरण गरेका थियौं ।

कोरोना महामारीको प्रभावले बिमा व्यवसायमा कस्तो असर पारेको छ ?
बिश्व बजारमै कोरोनाले ठुलो असर पारेको छ । त्यसले नेपालको समग्र अर्थतन्त्रमा नै नराम्रो असर पारेको छ । बीमा व्यवसायलाई पनि असरले छोएको छ । तर पनि तुलनात्मक रुपमा हाम्रो कम्पनीको समग्र व्यापार–व्यवसाय वृद्धि भएको देखिन्छ ।
बीमा व्यवसायमा निकै चुनौती छ भनिन्छ, अहिले यस व्यवसायमा कस्ता चुनौती देखिएका छन ?
बीमा व्यवसायलाई मानिसले नबुझ्नु र हामीले पनि मानिसहरुलाई बीमा व्यवसायको लाभका बारेमा बुझाउन नसक्नु नै मूख्य चुनौतीका रुपमा रहेको छ । बीमा हाम्रो जीवन र व्यापार व्यवसायमा अति आवश्यक छ।

उद्योग, व्यापार/व्यवसाय गर्दा पाइला–पाइलामा बीमा चाहिन्छ,बीमा गर्नु पर्छ । सबैले बीमा आवश्यक छ भन्ने तर बीमा नगरि उद्योग, व्यापार/व्यवसाय गर्ने समस्या छ ।
बीमा व्यवसायलाई वृद्धि गर्ने नीति सरकारले ल्याउन सकेको छैन, बीमा व्यवसाय वृद्धिका नयाँ–नयाँ क्षेत्र के कस्ता हुन सक्छ ?

नयाँ क्षेत्रभन्दा पनि अहिले भैरहेका क्षेत्रमा बीमा भैरहेको छैन । नयाँ बनिरहेका सबै घरको बिमा छैन, उद्योग व्यापारको अग्नी बीमा, चोरी डकैती बीमा छैन, सबै सवारी साधनको दुर्घटना बीमा छैन ।

बैंक वा वित्तिय संस्थाबाट ऋण लिएर निर्माण भएको घरको मात्र बीमा हुन्छ, अन्य घरको बीमा गरिएको हुँदैन । ऋण भुक्तानी भैसक्यो भने अब बीमा नगर्ने भन्ने अवस्था छ । घरको बीमा अनिवार्य गर्ने व्यवस्था गर्न सके यसले घरधनीलाई फाइदा र बीमा व्यवसाय वृद्धिमा पनि सहयोग पुग्न सक्छ ।


प्रभु इन्स्योरेन्सको नयाँ योजना के छ ?
“प्रभुमा बीमा गरौं निर्धक्क रहौ” भन्ने हाम्रो व्यवसायीक नारा छ । हाम्रो नयाँ योजना भनेको मुख्य रुपमा बीमा व्यवसाय बढाउने नै हो । त्यो हामीले गरि राखेका छौं । बीमा गर्न वातावरण बनाउनु पर्छ । बीमा बारे जनचेतना फैलाउने, बीमाका फाइदा बारे मानिसलाई बुझाउने, जागरण ल्याउने जस्ता काम गर्नु पर्दछ ।

यसमा हामीले केही काम गर्दै आएका छौं । बिज्ञापनले मात्र बीमा व्यवसाय बढदैन । मानिसले बीमा बारे बुझेकै छैन भने बिज्ञापनको पोष्टर र दुई–चार शब्द हेरेर बीमा व्यवसाय वृद्धि हुँदैन । आमजनतामा नै जनचेतना जगाउनु पर्दछ ।

मिडियाले पनि बीमा बारे जनचेतना वृद्धि हुने गरि लेख, रचना, समाचार प्रकाशित गरि दिनु पर्दछ । बीमा गर्नु भनेको बीमा कम्पनीको नाफाका लागि मात्र होईन सबै जनताको फाइदा र आवश्यकताका लागि बीमा अनिवार्य छ ।

बीमा कम्पनीले बीमाका योजना ल्याएका हुँन्छन । निर्जिवन बीमा भनेको क्षतिको क्षतिपूर्ति दिने हो, फाइदा दिने होइन ।
हाम्रो योजना भनेको बीमा बढाउने हो । प्रलोभन दिएर, आकर्षक उपहार दिएर हैन । नबुझेको ठाउँमा पुग्ने र बीमाका सम्वन्धमा बुझाउने र चेतना फैलाउने काम गर्नु पर्छ ।

यसमा सरकार नियमनकारी निकाय हामी व्यवसायी चुकेका छौं । बीमा शिक्षालाई विद्यालय कक्षामा समेटनु पर्दछ । अहिले एक–दुई कलेजमा बीमा बारे पढाइन्छ । तर बीमा शिक्षालाई विद्यालय स्तरबाटै पढाउँदा यसले छिटो जनचेतना वृद्धि गर्छ । कलेजमा मात्र पढाउँदा थौरैले मात्र पढ्छन । विद्यालय स्तरमै बीमा शिक्षा दिंदा बीमाको दायरा बढ्छ र बीमा शुल्क पनि घटछ ।

कम्तीमा ८,९ र १० कक्षामा बीमा शिक्षालाई समेटन जरुरी छ । बीमा भयो भने सबैको आर्थिक अवस्था सुध्रिन्छ । बचत वृद्धि हुन्छ, नोक्सान भयो भने क्षतिपूर्ति हुन्छ । मोटरसाइकलको तेस्रो व्यक्ति बीमा १ बर्षको १७०० रुपैयाँ बीमा शुल्क पर्छ । एउटा सामान्य घरको बर्षको ४ हजार बीमा शुल्क हुन्छ । यति रकम भनेको केहि पनि हैन । १ करोडको घर बनाउने मानिसलाई ४ हजार रुपैयाँ केहि हैन । तर पनि मानिसले घरको बीमा गर्दैनन । यसमा चेतना ल्याउन जरुरी छ ।

व्यवसाय थाल्नु अघि बीमा गर्ने नीति बनाउन जरुरीदेख्नु हुन्छ ?
निर्माण कम्पनीहरुले बीमा गर्छन । त्यो पनि सबैले गरेका छैनन् । निर्माण कम्पनीले बीमा गर्ने शुरुवात गरेका छन । यस्तै हरेक क्षेत्रमा बीमा आवश्यक छन । हामी मोवाइन बोक्छौं, टिभी हेरछौं, फ्रिज राख्छौं यी सबैको बीमा गर्न सकिए क्षति वा नोक्सान हुँदा क्षतिपूर्ति रकम पाइन्छ ।
सवारी साधनको अनिवार्य बीमा गर्ने व्यवस्था छ तर धेरै सवारी साधन बीमा नगरि सडकमा दौडिरहेका छन । हरेक घरको बीमा हुनुपरर्यो, सबै उद्योग–व्यवसाय, यात्राको बीमा गर्न आवश्यक छ । बीमा गरेपछि नोक्सान भएमा बीमितले आफ्नो सामान वा व्यवसायको क्षतिपूर्ति रकम बीमा कम्पनीबाट पाउँछ ।

बीमा कम्पनीले क्षतिपूर्ति बीमा भूक्तानीमा ढिलासूस्ती गर्छन, छिटो क्षतिपूर्ति भुक्तानी गर्दैनन भन्ने गुनासो पनि सुनिन्छ नी ?
हरेक चिजको प्रकृया हुन्छ, बीमा दावी भूक्तानीमा पनि प्रकृया हुन्छ । बीमा गरिसकेपछि क्षती भएमा दावी निवेदन पर्छ, त्यसपछि हामीले क्षति बुझ्न सर्भे पठाउँछौं, सर्भेले बीमा क्लेम सहि हो कि हैन पत्ता लगाउँछौं । त्यसका लागि केही समय लाग्छ, त्यसलाई प्रमाणित गर्ने निश्चित कागजात मागिन्छ । त्यो कागजात प्राप्त भैसके पछि बीमा दावी भुक्तानीमा कुनै किसिमको ढिलासुस्ती हुँदैन । सर्भेलाई चाहिने कागजात समयमै उपलव्ध गराए ढिला हुँदैन, कहिले काँही सर्भेको कागजातमा महिनौं ढिला हुन्छ । धेरै पछि आवश्यक कागजात आउँछ, अनि दावी भुक्तानीमा ढिला हुन्छ ।

कसैले फेरी डकुमेन्ट दिने वित्तिकै दावी भुक्तानी अहिल्यैको अहिल्यै दे भन्छन । यहाँबाट पनि डकुमेन्ट चेक हुनुपर्छ, भेरिफाई गर्नुपर्छ, छानवीन हुन्छ । हामीले डकुमेन्ट प्राप्त भएपछि छानवीन गरि सबै डकुमेन्ट पुरा भएको छ , माग दावी सहि छ भने तुरुन्तै भुक्तानी दिइहाल्छौं । कहि कतै कुनै कमजोरी भयो भने सबै बीमा कम्पनीमा त्यही नै हुन्छ भनेर एउटै आँखाले हेर्नु हुँदैन ।
बीमितकै कारण ढिलासुस्ती भएको हुन सक्छ । आजको प्रतिस्पर्धी व्यवसायमा कुनै कम्पनीले ढिलासुस्ती गरे अर्को कम्पनीमा ग्राहक बीमा गर्न गइहाल्छन । कुनै गुनासो भए गुनासो राख्ने उजुरी गर्ने ठाउँ पनि छ,बीमाको हेड अफिस छ, नियमनकारी निकाय बीमा समिति छ , त्यहाँ ग्राहक पुगि हाल्छन ।

त्यसैले मलाई चाहीँ सत्य रुपमा बीमा दावी भूक्तानी गर्दा ढिलासुस्ती हुन्छ भन्ने लाग्दैन । बीमा कम्पनीले पनि ढिलासूस्ती गरयो भने बीमा व्यवसाय गर्न सक्दैन । कुनै सानो कुरामा, प्रष्ट नभएको कुरामा एक–दुई चरण छलफल हुन सक्छ । यो सामान्य कुरा हो ।

नेपालमा बीमा व्यवसायको भविष्य कस्तो देख्नु हुन्छ ?
बीमा व्यवसायको भविष्य उज्जवल छ । तर विद्यालय र कलेज शिक्षामा बीमा शिक्षालाई समेटेर लैजानु पर्छ । त्यो भयो भने बीमा व्यवसाय छिटो वृद्धि हुन्छ । बीमा हिजोको भन्दा आज निश्चय पनि बढेको छ तर गति सुस्त छ । मानिसको आर्थिक जीवनस्तर उकास्ने बीमाले नै हो ।
तपाईको व्यापार व्यवसाय १ करोड ऋण लिएर शुरु गर्नु भएको छ, मूनाफा गरेर ऋण तिर्ने र व्यापार व्यवसाय बढाउने तपाईको आशा र अपेक्षा हुन्छ । भोली आगलागी भयो, भूइचालो आउला, ठुलो चट्टान पर्ला, चोरी होला, कुनै चिज ठोक्किएर क्षति होला
तपाईले व्यापार व्यवसाय १ करोड रूपैयाँ ऋण लिएर शुरु गर्नु भएको छ, मूनाफा गरेर ऋण तिर्ने र व्यापार व्यवसाय बढाउने तपाईको योजना र अपेक्षा हुन्छ ।

भोली आगलागी भयो, भूइचालो आयो, ठुलो चट्टान पर्यो, चोरी/डकैती भयो, कुनै चिज ठोक्किएर क्षति होला, नष्ट होला तर तपाईले बीमा गर्नु भएको छ भने डुब्नु हुन्न, क्षतिपूर्ति रकम बीमाबाट पाउनु हुन्छ । बीमा गर्नु भएको छैन भने तपाई डुब्नु हुन्छ । व्यवसायमा क्षति हुने विभिन्न कारण हुन सक्छन, त्यसबाट बच्ने र क्षतिलाई पूर्ति एक मात्र उपाय बीमा गर्नु नै हो ।

प्रभु इन्स्योरेन्स कम्पनीले गत आ.व. ०७६/०७७ बाट शेयरधनीलाई कति लाभांस दिंदैछ ?
हामी बीमा गराउने र बीमाको दायरा बढाउँदै छौं । त्यसबाट प्राप्त प्रतिफल शेयरधनीलाई दिने हाम्रो उद्देश्य हुन्छ । गत बर्ष हामीले पौने २६ करोड मूनाफा आर्जन गर्न सफल भएका थियौं । त्यसबाट १०।५ प्रतिफल दिने सञ्चालक समितिबाट निर्णय गरि बीमा समितिमा पठाएका छौं । स्वीकृत भएर आएको एक महिना भित्र साधारण सभा गरि लाभांस दिने निर्णय गरेर लाभांस वितरण गछौं ।

अन्त्यमा सेवाग्राही र बीमितहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?
प्रभु इन्स्योरेन्समा बीमा गरौं, निधक्क बनौं । बीमा गर्नु अति आवश्यक छ, सबैका लागि बीमा आवश्यक छ, बीमा गर्नका लागि सोच्नु पनि पर्दैन, वाद–विवाद गर्नु पनि पर्दैन । भविष्यमा पर्न सक्ने कुनै पनि हानी नोक्सानीबाट बीमाले बचाउँछ, क्षतिपूर्ति दिलाउँछ । त्यसैले बीमा गरेर उद्योग, व्यापार/व्यवसाय गरौं, कारोवार गरौं, घर निर्माण गरौं, यात्रा बिमा गरौं । भविष्यलाई सुरक्षित गर्ने एक मात्र माध्यम बीमा हो ।