९ कार्तिक २०७८, मंगलवार

अवैतनिक दूतलाई कूटनीतिक प्रतिनिधिसरहको हैसियत माग

डिप्लोम्याट खबर
२४ श्रावण २०७८, आईतवार ०७:२४

काठमाडौँ । विभिन्न देशका वाणिज्य दूतहरूको संस्था अनररी कन्सुल कर्पस नेपालले आफूहरूलाई कूटनीतिक नियोग प्रतिनिधिसरहको हैसियत प्रदान गर्न सरकारसँग माग गरेको छ ।

कर्पसका डिन लोकमान्य गोल्छाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर विभिन्न माग राखेको हो ।

प्रधानमन्त्री देउवालाई शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेको सो टोलीले कूटनीतिक नियोगको हैसियतको सवारी सुविधा र सम्मान दिलाउन आग्रह गरेको उक्त संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विगतमा विभिन्न देशका लागि नियुक्त नेपालका वाणिज्यदूतहरूले कूटनीतिक निकायको मान्यता प्राप्त सवारीसाधन प्रयोग गर्न पाउने गरेको जनाइएको छ ।

निलो प्लेट र प्रतिनिधि देशको झण्डा सहित सवारी साधन चलाउने यो व्यवस्था केही वर्ष पहिले नेपाल सरकारले निलम्बन गरेको थियो । यसले विदेश राष्ट्रका प्रतिनिधि नेपाल आउँदा व्यवस्थापन गर्न तथा मुलुकभित्रै पनि सहज आवागमन गर्न सुविधा हुने र उनीहरूको सम्मानको वातावरण समेत बन्ने भएकाले यो छुट सहितको सवारी साधन प्रयोग अनुमति दिन आग्रह गरिएको प्रतिनिधि मण्डलमा सहभागी व्यवसायी राजेशकाजी श्रेष्ठले बताउनुभयो ।

भेटमा यस्ता दूतहरूलाई आन्तरिक तथा अन्तर्राष्टिय विमानस्थलमा विदेशी राजदूतसरहको आवागमन व्यवस्था गर्नुपर्ने माग पनि राखिएको छ । सम्बन्धित मुलुकबाट आउने उच्च अधिकारीको व्यवस्थापन तथा सम्मानका खातिर पनि विगतमा निलम्बित यस्ता सुविधा सुचारु गर्न आग्रह गरिएको डिन गोल्छाले जानकारी दिनुभयो ।

व्यवसायीको मागपछि प्रधानमन्त्री देउवाले यस विषयमा उपयुक्त निर्णय गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने आश्वासन दिनुभएको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया : थप