GB Koirala Banner Ad New

कोरोनाले डिडिसि घाटामा,२० करोड ऋण लिएर किसानको दुधको भुक्तानी

काठमाडौं । देशभरका १२ सय दुग्ध सहकारी संस्था र २ लाख किसानसँग दैनिक प्रत्यक्ष रुपमा जोडिएको दुग्ध बिकास संस्थान गत वर्षदेखि घाटामा गएको छ ।

सरकारी स्वामित्वको संस्थान गत आर्थिक वर्ष करिव १३ करोड रूपैयाँ घाटामा गएको थियो । गत आर्थिक वर्षमा किसानलाई भुक्तानी दिनुपर्ने रकम पनि संस्थानले अर्थ मन्त्रालयसँग २० करोड ऋण लिएर भुक्तानी गरेको छ ।

यो ऋण संस्थानले किस्ताबन्दीमा तिर्ने भएको छ। संस्थानलाई दुध उपलव्ध गराउँदै आएका किसानहरूले २०७८ साउन र भदौ दुई महिनाको भुक्तानीदयही असोजमा पाउने भएका छन । संस्थानले अझै किसानलाई दुधको करिव ६–७ करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

विगत वर्षहरूमा मुलुकभित्रै दुधको उत्पादन बढ्दा नाफामा जाने र विदेशबाट कच्चा पदार्थ खरिद गरेर ल्याउँदा नोक्सानीमा पर्दै आएको थियो । आखिर मुलुकमा अहिले कृषि उत्पादन बढिरहेको समयमा एकाएक कोरोना महामारी बढेर दुधको खपत कम हुँदा संस्थान घाटामा गएको हो।

कोभिड १९ जारी रहेको समयमा किसानसँग संस्थानले निरन्तर दुध खरिद गरिरहयो र ढुवानी खर्च पनि बढ्यो । तर बिक्री कम भयो। उपभोक्ता सबै गाउँ गएका बेला दूध बिक्रीवितरण नहुँदा संस्थानले नौनी, घ्यू ,पाउडर दूध बनाएर स्टक राख्यो। यसरी खर्च बढ्दा र उपभोक्तालाई पुरानै मूल्यमा दुध लगायत दुग्धजन्य पदार्थ बेच्नुपर्दा संस्थानलाई नोक्सानी हुन गएको अधिकारीको भनाई छ ।

उपत्यकामा लकडाउन हुन अगाडिसम्म मासिक २ लाखदेखि २ लाख ५० हजार लिटरसम्म दुध खपत हुन्थ्यो । लकडाउन पछि शहरका उपभोक्ता गाउँगाउँमा गएका कारण दैनिक ६८ देखि ७० हजार लिटर मात्रै विक्री भएर तल झरयो ।

हाल दैनिक उपभोक्ताको संख्या केही बढेर ६८ देखि ८५ हजार लिटर पुगेको काठमाडौं दुग्ध वितरण आयोजना स्रोतले बतायो ।

तत्कालीन सरकारले २०७६ साल चैत्र ११ गतेबाट मुलुकभर एकसाथ लकडाउन गरयो । जसका कारण मुलुकको राजनीतिक,आर्थिकलगायतका गतिविधिहरू शून्यमा झरयो। यस्तो प्रतिकूल अवस्थामा पनि संस्थानले किसानसँग गरेको संझौतामा अबिचलित रुपमा पूरा गर्न खोज्दा संस्थान यो हालतमा पुगेको कर्मचारीहरू बताउँछन ।

सरकारले लकडाउन गरेको अबधिमा पनि संस्थानले दुग्ध सहकारी संस्थान र किसानसँग गरेको संझौतालाई उल्लंघन दूध खरिद गरयो। असामान्य अवस्थामा पनि संस्थानले दुध खरिद गरेर ल्याए पनि लकडाउनका कारण बिक्री हुनसकेन ।

दुध बिक्री नभएपछि संस्थानले पाउडर र मख्खन बनाएर स्टोर गरयो । ती सामग्री यतिवेला चाडबाड लागेसँगै बिक्री वितरणका लागि केही छुट दिएर सहुलियत दशैं बजारमा राखिएको छ ।

हरितालिका तीजको अवसरदेखि संकलित दुग्धजन्य पदार्थ बिक्री बढेसँगै संस्थानको नोक्सानी घाटा परिपूर्ति हुने महाप्रवन्धक रुद्रप्रसाद पौडेल बताउँछन् ।

नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्ने दायित्वबाट कहिल्यै पछि नहट्ने उनको अठोट छ । नाफामुखी भन्दा पनि सेवामुखी भएर संस्थान अगाडि बढ्ने महाप्रवन्धक पौडेलको भनाई रहेको छ ।