१८ मंसिर २०७८, शनिबार

नेपाली चिया निर्यातमा भारतीय अवरोध

डिप्लोम्याट खबर
६ मंसिर २०७८, सोमबार १८:५५

काठमाडौं । नेपालमा उत्पादन भएको हरियो चिया निर्यातलाई भारतले रोक लगाएको छ । टि बोर्ड भारतले नेपाली चियाको गुणस्तर कमजोर भएको आरोप लगाउँदै एक हप्तादेखि निर्यातमा रोक लगाएको हो ।

चिया निर्यात गर्नेले भारतको टि बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने भारतको कानुनी व्यवस्था रहेको छ । नेपाल चिया उत्पादक संघका अनुसार भारतको टि बोर्डले विना आधार नेपाली चिया गुणस्तरहीन भएको आरोप लगाएका कारण निर्यात ठप्प भएको छ ।

एक हप्ताअघि झापाको पानी ट्याङ्कीमा रहेको भारतीय भन्सारमा लैजाँदै गरेको दुई गाडी चिया रोकिएपछि निर्यात ठप्प भएको चिया तथा कफी विकास बोर्ड फिक्कलका कर्मचारी इन्द्र अधिकारीले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार निर्यात खुलाउन काठमाडौंमा रहेको भारतीय दूतावास र कोलकातामा रहेको नेपाली महावाणिज्यदूतको कार्यालयमा हिजो पत्र पठाइ सकिएको छ। यसबारे दुई देशबीच छलफल सुरु भएको र भोलिसम्ममा यस विषयको टुङ्गो लाग्ने उनले बताएका छन ।

भारत पठाउन लागिएको १५ हजार किलो चिया झापाको काँकडभिट्टाको भन्सार कार्यलयमा नै रोकिएको चिया उद्यमी ग्रीनहील टि इन्डस्ट्री प्रा.लि.का प्रोप्राइटर टंक दाहालले बताएका छन । भारतको टि बोर्डले नेपाली चियाको निर्यातमा रोक लगाएर नेपाल–भारतबीचको व्यापार–सन्धिको उल्लङ्घन गरेको चिया उद्यमीहरूको भनाइ छ ।

नेपालमा वार्षिक करिब दुई करोड किलो सीटीसी चिया र करिब ७० लाख किलो अर्थोडक्स चिया उत्पादन हुने सरकारी तथ्याङ्क रहेको छ । उत्पादनको ५० प्रतिशत सीटीसी चिया र ९० प्रतिशत अर्थोडक्स चियाको बजार छिमेकी राष्ट्र भारत हो ।

पूर्वी नाकाबाट निर्यात हुने कुल नेपाली उत्पादनको झण्डै २६ प्रतिशत हिस्सा चियाले ओगट्ने मेची भन्सार कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ ।

प्रतिक्रिया : थप