GB Koirala Banner Ad New

उदयपुर सिमेन्टले बनायो नाफामा नयाँ रेकर्ड

काठमाडौँ। व्यवस्थापकीय र प्राविधिक पक्ष सुधारसँगै उदयपुर सिमेन्ट उद्योगले उत्पादनमा नयाँ रेकर्ड कायम गरेको छ। राजनीतिक भागबन्डाका आधारमा गरिने महाप्रबन्धक नियुक्ति र कर्मचारी आन्दोलनले थलिएको उद्योग पछिल्लो समय व्यवस्थापकीय सुधारसँगै खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति हुन थालेपछि उत्पादन वृद्धि भएको छ हो।

गत माघमा प्रवेश गरेका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको कार्यकालको सय दिनमा उद्योगले ४९ करोड आम्दानी गरेको हो। उद्योगले माघयता ६ करोड ६० लाख १ सय ७३ बोरा सिमेन्ट बिक्री गरेको हो। उद्योगले गैंडा सिमेन्ट उत्पादन गर्छ।

धराशायी बन्दै गएको उद्योगलाई गति दिन महाप्रबन्धक न्यौपानेले उद्योग बचाउका लागि अल्पकालीन र दीर्घकालीन योजना ल्याएको बताए। अधिकांश समय उद्योगभित्रै बिताएका उनले उद्योगको विगत १२ वर्षको इतिहास ब्रेक गर्दै १७ हजार ३ सय ६४ बोरा सिमेन्ट एकै दिन बिक्री गरेको बिक्री विभाग प्रमुख रामबहादुर जीसीले बताए।

एकै दिनको बिक्रीले उद्योगलाई १ करोड २९ लाख ५० हजार ७१ रुपैयाँ प्राप्त भएको उनले बताए। पछिल्लो समय सिमेन्ट बिक्रीदर ह्वात्तै बढेको उनले बताए। जीसीले भने, ‘दैनिक सरदर ८ देखि १२÷१३ हजार बोरा सिमेन्ट बजार जाने गरेको छ।’ न्यौपानेले आफू उद्योग प्रवेश गरेको सय दिनको समीक्षा गर्दै आगामी योजना र हालसम्मका उपलब्धिसमेत सार्वजनिक गरेका हुन्।

संकटपूर्ण अवस्थामा पुगेको उद्योगलाई पुनर्जीवन दिने प्रतिबद्धतासहित कार्यभार सम्हालेका न्यौपानेले देखिने गरी लक्ष्यअनुसार उद्योगलाई सञ्चालनमा ल्याएका छन्।

उद्योग सुधारसँगै लगानी थप गर्ने तथा विदेशी लगानीसमेत जुटाउन अध्ययनसमेत सुरु गरेका छन्। २०७७ साउनदेखि पुस मसान्तसम्म ६ करोड ९८ लाख ५ सय ८६ बोरा सिमेन्ट बिक्री गरी ५२ करोड आम्दानी गरेको उद्योगले सय दिनमा क्षमताअनुसार आम्दानी गर्न सफल भएको प्रमुख जीसीले बताए।

पुससम्म ६५ करोड ८२ लाख दायित्व रहेकोमा उद्योगको आम्दानीबाट सरकारी राजस्व ७ करोड, कर्मचारी सेवा सुविधा भुक्तानी ८ करोड, वस्तु आपूर्ति सेवाको भुक्तानी ३० करोड, अवकाश कोषमा ४ करोड गरी रु। ४९ करोड भुक्तानी गरी सकिएको उनले बताए।

पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उद्योग विगत दुई वर्षदेखि नेतृत्वविहीन अवस्थामा थियो। नयाँ नेतृत्व नपाएपछि उद्योग निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो।

२०४४ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग एसियाको दोस्रो ठूलो र नेपालको पहिलो पूर्ण सरकारी स्वामित्वमा पर्छ। जापान सरकारले २०५१ सालमा नेपाललाई हस्तान्तरण गरेको थियो।

औपचारिक रूपमा उद्योगमा लोडसेडिङ नभए पनि बेलामौकामा झ्याप्प–झ्याप्प विद्युत् कटौती हुँदा समस्या आउने गरेको उद्योगका नायब महाप्रबन्धक नवलकिशोर साह बताउँछन्।

विद्युत् वितरण नियमित हुने हो भने उद्योगलाई पहिलाकै गतिमा लैजान समस्या नभएको उनी बताउँछन्। विगतमा उद्योगको मुख्य मेसिन (गियर) मा बारम्बार समस्या आउने गरेकोमा अहिले त्यो ठाउँमा प्राविधिक तयारी अवस्थामा राखेर चलाउने गरेको उद्योग प्रशासनको भनाइ छ।

‘दक्ष जनशक्तिसँगै नयाँ गियर मेसिन ल्याई जडान गरिएको छ, अन्य मेसिन पनि बेलामौकामा मर्मत भइरहेका छन्’, नायब महाप्रबन्धक साहले भने, ‘विद्युत् समस्याबाहेक अब हामीसँगै कुनै त्यस्तो समस्या छैन, नियमित विद्युत् आपूर्ति हुनासाथ पुरानो इतिहासलाई जोगाएर राख्न सक्छौं।’

वि।सं। २०४९ सालदेखि व्यावसायिक उत्पादन थालेको उद्योगले स्थापनापछि २०५५ सालमा एक पटक धेरै बिक्री गरेको थियो त्यस पनि यो नै अर्को नयाँ कीर्तिमान भएको महाप्रबन्धक न्यौपानेले बताए।

उनले भने, ‘म आउनुभन्दा अगाडि २०५५ मा यसको हाराहारी सिमेन्ट बिक्री भएको अभिलेखमा देखियो तर, त्यसयता बढीमा १२ हजार बोराभन्दा धेरै बिकेको रेकर्ड छैन।’

माघमा पहिलो चोटी उद्योग आउँदा कोइला, जिप्सनलगायत कच्चा पदार्थ नभएकाले १० दिनमा सामग्री जुटाएर उद्योग सञ्चालनमा ल्याएको न्यौपाने बताउँछन्।

बिक्री विभागका अनुसार माघमा २ लाख ११ हजार १ सय ३८ बोरा सिमेन्ट बेचेको उद्योगले फागुनमा २ लाख ३८ हजार ३ सय ७१ बोरा बिक्री गरेको छ। साउन १ देखि पुस मसान्तसम्म ६ लाख ९८ हजार ५ सय ८६ बोरा सिमेन्ट बिक्री भएकोमा न्यौपानेको सय दिनमा ६ लाख ६० हजार १ सय ७३ बोरा सिमेन्ट बिक्री भएको प्रमुख जीसीले बताए।

अहिले उत्पादन र बिक्री दुवैमा प्रगति भएको र आफू आउँदा ६५ करोड ८२ लाख रहेको चालू दायित्वलाई सय दिनमा ४९ करोड भुक्तानी गरिसकेको न्यौपानेले बताए।

बाँकी १६ करोड दायित्व आउँदो असारभित्र भुक्तानी गरिसक्ने उनको भनाइ छ। ‘बाँकी दायित्व पनि चालू वर्ष ९असार० भित्रै तिरिसक्ने गरी सिमेन्ट उत्पादन र बिक्रीमा मेरो ध्यान गएको छ’ उनले भने ‘यन्त्र उपकरणले धोका नदिए सहजै तिर्न सकिन्छ।’

पाँचहजार मेट्रिकटन भन्दा बढी कोइला तथा १ हजार ५ सय मेट्रिकटन जिप्सम र १ हजार टन आइरन मौजाद रहेको उनले बताए। करिब २८ वर्षअघि जापान सरकारको सहयोगमा स्थापना गरिएको उद्योगको अधिकांश मेसिन उपकरण मर्मत हुन नसक्दा उद्योग संकटमा थियो।

उद्योगले बर्सेनि एक अर्बको हाराहारीमा राजस्व योगदान पुर्‍याउँदै आएको महाप्रबन्धक न्यौपानेले बताए। उद्योगको दैनिक ८ सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने क्षमता छ।

उद्योगलाई हालकै क्षमतामा सञ्चालन गर्न करिब ३५ करोड लगानी गर्नुपर्ने उनले बताए। त्यसमा करिब २५ करोड थप लगानी गरी कारखानाको क्षमता प्रतिदिन ३ सय मेट्रिकटन थप भई दैनिक १ हजार १ सय मेट्रिकटन पुग्ने आकलन गरिएको छ।

२०४४ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग एसियाको दोस्रो ठूलो र नेपालको पहिलो पूर्ण सरकारी स्वामित्वमा पर्छ। उद्योगका नायब महाप्रबन्धक नवलकिशोर साहले विद्युत् वितरण नियमित नहुँदा समस्या आउने गरेको बताए। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट