GB Koirala Banner Ad New

दुई दशक अघि सुरु गरिएको धोबिखोला करिडोरको काम सम्पन्न हुन सकेन

काठमाडौँ । काठमाडौँ उपत्यकाको सहरी विकास तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्य सहित दुई दशक अघि सुरु गरिएको धोबिखोला करिडोरको काम सम्पन्न हुन सकेको छैन । खोलाको दुवैतर्फ गरी कुल २४ किलोमिटर लम्बाइ रहेको करिडोरको हालसम्म १४ किलोमिटर मात्र कालोपत्रे भएको छ । सुरुमा खोलाको दुवैतर्फ गरेर यस आयोजनाको कुल लम्बाइ ११ किलोमिटर निर्धारण गरिएको थियो ।

उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले बजेटको अभाव तथा ठाउँठाउँमा जग्गा विवादका कारण आयोजनाको काम सुस्त भएको स्वीकार्दै चालू आर्थिक वर्षभित्र आयोजनाको सम्पूर्ण काम सम्पन्न हुने दाबी गर्नुभयो ।

उपत्यकाको बढ्दो सवारी चापको व्यवस्थापन तथा सहरी विकासका लागि जापान सहयोग नियोग ९जाईका०ले सन् १९९३ मा गरेको अध्ययन प्रतिवेदनको सुझावअनुसार २०५८ सालबाट आयोजना सुरु गरिएको थियो ।

झन्डै दुई दशकको अवधिमा अहिलेसम्म कतिपय ठाउँमा ट्र्याक खोल्ने काम पनि सम्पन्न हुनसकेको छैन । ट्र्याक खोल्ने काम अझै दुई प्रतिशत बाँकी छ । अहिलेसम्मको आयोजनाको कुल भौतिक प्रगति ८० प्रतिशत रहेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

आयोजनाका अनुसार अहिलेसम्म दुई अर्ब ८९ करोड ९० लाख रुपियाँ खर्च भइसकेको छ । गत आर्थिक वर्षमा यस आयोजनाअन्तर्गत क्षतिपूर्तिका लागि एक करोड ९५ लाख रुपियाँ र निर्माणका लागि २२ करोड ४८ लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा करिब १८ करोड रुपियाँ खर्च भएको छ । प्राधिकरणका अनुसार यो आयोजना सम्पन्न गर्न अझै करिब ५० करोड रुपियाँ आवश्यक पर्छ ।

प्रमुख विकास आयुक्त ढकालले नीलोपुलभन्दा माथि कपन क्षेत्रमा पाँचवटा घर रहेको जग्गासम्बन्धी विवाद समाधान हुन नसक्दा ट्र्याकको काम सम्पन्न हुन नसकेको बताउनुभयो । सो क्षेत्रमा करिब दुई सय मिटर सडक ट्र्याक खोल्न बाँकी छ ।

आयोजनाका अनुसार अहिले कपन भङ्गालमा ढल हाल्ने, ढलान गर्ने, रेलिङ हाल्ने लगायतका काम भइरहेको छ ।

बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव खरेलले क्षतिपूर्ति र मुआब्जा कम भयो भन्दै तीन ठाउँमा विवाद रहेकाले नीलोपुलमा जग्गा अधिग्रहण हुन नसक्दा यस आयोजनाले पूर्णता पाउन नसकेको बताउनुभयो ।

उहाँले कतिपय ठाउँमा कसैको घरमा एक मिटर मात्र जग्गा परेकाले घरधनीले घर भत्काउन नमानेपछि काम अगाडि बढ्न नसकेको बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट