GB Koirala Banner Ad New

बन्चरेडाँडा ल्यान्डफिल साइट,’दिगो समाधानबिना फोहोर फ्याँक्न नदिने’

काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्ने तयारी गरिरहेका बेला स्थानीयले समस्याको दिगो समाधान नभएसम्म फोहोर विसर्जन गर्न नदिने भएका छन् ।

बन्चरेडाँडा–सिसडोल ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन समितिले असोज २ गते बन्चरे ल्यान्डफिल क्षेत्र परिसरमा दबाबमूलक कार्यक्रम आयोजना गरी संघर्षका कार्यक्रम घोषणा गर्ने भएका छन् ।

समितिका संयोजक श्रीराम ढुंगानाले समस्याको दिगो समाधान नहँुदासम्म बन्चरेमा फोहोर फ्याक्न नदिने बताउनुभयो । उहाँले पटक–पटक चेतावनी दिँदा समेत कुनै सुनुवाइ नभएपछि दबाबसहित संघर्षका कार्यक्रम घोषणा गर्न लागेको बताउनुभयो ।

सरकारको आश्वासनले समस्या समाधान हुन नसक्ने भएकाले अब दबाबको विकल्प नरहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘अबको दबाव निर्णायक हुनेछ, सरकारले दीर्घकालीनरूपमा माग सम्बोधन नगरेसम्म बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न दिँदैनौं । समस्या समाधान नगरी बन्चरेमा फोहोर विसर्जन गर्न खोजे कडा प्रतिकार गर्नेछौं ।’

व्यवस्थापन समितिले अबको लडाइँ माग पूरा नभएसम्मका लागि निरन्तर जारी रहने चेतावनी दिँदै असोज २ गते नुवाकोट, धादिङ र काठमाडौंका सयौं स्थानीय जनताको भेला गराइने जनाएको छ ।

स्थानीयवासीले पनि हचुवाको भरमा फोहोर विसर्जन गर्न लागेको आरोप लगाउँदै समस्या समाधान नभएसम्म फोहोर विसर्जन गर्न नदिने जनाइसकेका छन् ।

स्थानीयले बन्चरे ल्यान्डफिल साइटमा फोहोरबाट मल बनाउन मिल्ने उद्योग स्थापना गर्नुपर्ने, कोल्पुखोलामा लिचेड व्यवस्थापन गर्ने योजना रोक्नुपर्ने माग अघि सारेका छन् ।

सरकारले गत भदौ १५ गते सिसडोलका स्थानीयका १४ बुँदे माग सम्बोधन गरेर करिब एक महिनादेखि थुप्रिएको २० स्थानीय तहको फोहोर उठाएको थियो ।

तीनपिप्ले–सिसडोल सडक ग्राभेल गरी तत्काल टेन्डर गरी कालोपत्रे गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीसाधनले लिचेड बक्सको व्यवस्था गर्नुपर्ने, फोहोर ढुवानी गर्ने सवारीलाई बिहान ४ देखि दिउँसो ४ बजेसम्म मात्र अनुमति दिने व्यवस्था गर्नुपर्ने र त्यसका लागि टाइम कार्डको व्यवस्था गर्नुपर्ने, तीनपिप्ले–सिसडोल खण्डको जग्गाको कित्ताकाट गरी मुआब्जा दिने विषयमा काठमाडौं महानगरपालिकाका मेयरसँग छलफल गर्ने लगायतको सहमति भएको थियो ।

सहमति गरेको करिब दुई साता बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको स्थानीयको भनाइ छ ।

समितिका संयोजक ढुंगानासहितको टोलीले करिब दुई साताअघि मुख्य सचिव शंकरदास वैरागी, प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना, सडक विभागका महानिर्देशक अर्जुनजंग थापालगायतको टोलीसँग भेटेर योजना पेस गरेको थियो ।

समितिले फोहोर मैला व्यवस्थापन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, फोहोर विर्सजन हुने ल्यान्डफिल साइटलाई मानवरहित क्षेत्र बनाउन परियोजना सञ्चालन गर्नुपर्ने, कोल्पुखोलालाई निर्मलीकरण गर्नुपर्ने, फोहोरबाट मल निर्माण गर्ने गरी कम्पोस्ट मल उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्ने, विस्तृत वातावरणीय अध्ययनका गर्न वातावरणीय अध्ययन केन्द्र स्थापना गर्नुपर्ने योजना पेस गरेका थिए ।

भेटका अवसरमा स्थानीयले गएको वैशाख २३ गते बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरेको छ । सरकार भने सबै माग थन्क्याएर एकोहोरोरूपमा तत्काल बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न अन्तिम तयारी गरेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले बन्चरेडाँडा ल्यान्डफिल साइटको सेल वान तयार भई कामपालाई हस्तान्तरण गर्न गत शुक्रबार नै पत्र पठाएको जानकारी दिनुभयो । तर, कामपाले शहरी विभागबाट हालसम्म कुनै पत्र प्राप्त नभएको जनाएको छ ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले बन्चरेडाँडा ल्यान्डफिल साइटको सेल वान तयार भएको बारेमा जानकारी नभएको बताउँदै विभागले पूर्ण तयारी नगरेसम्म फोहोर व्यवस्थापन हुन नसक्ने जिकिर गर्दै भन्नुभयो– ‘विभागले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फ्याक्ने गरी तयारी भइसकेको जानकारी गराए पनि औपचारिक पत्र पाएका छैनौं ।’ उहाँले स्थानीयको मागको विषयमा सरकारले सम्बोधन नगरेसम्म फोहोर बिसर्जन गर्न कठिन हुने बताउनुभयो ।

सरकारले करिब १ अर्ब रुपियाँ खर्च गरेर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विभिन्न संरचना निर्माण गरिरहेको छ । २०६२ सालमै ३ वर्षभित्र बन्चरेडाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य तय गरिएको थियो । तर, १६ वर्ष बितिसक्दा पनि बन्चरेडाँडाको पूर्वाधार अझै पूर्णरूपमा तयार भएको छैन । आजको नेपाल समाचारपत्र दैनिकबाट