GB Koirala Banner Ad New

माल्दिभ्समा १३औं साफ असोज १५ देखि २७ सम्म हुने

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३ औं संस्करण अक्टोबर १ देखि १३ ९असोज १५ देखि २७० सम्म माल्दिभ्समा हुने भएको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ  (साफ )को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा ) का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

१३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको छ भने भुटानले तीन दिनपछि निर्णय दिने जनाएको एन्फाले जानकारी दियो । वर्ष दिन पछि धकेलिएको प्रतियोगिता यस अघि सेप्टेम्बर १४ देखि २५ सम्म ढाकामा हुने तालिका रहेको थियो । तर, आयोजक बंगलादेशले कोभिड–१९ महामारीका कारण आयोजना नगर्ने जानकारी गराएपछि आयोजकको अनिश्चित भएको थियो ।

बंगलादेशले कोरोना महामारीका कारण आयोजना गर्न नसक्ने जनाएपछि नेपाल र माल्दिभ्सले आयोजनाका लागि चासो देखाएका थिए । साफ च्याम्पियनसिप अहिले सम्म नेपालमा दुई पटक आयोजना भएको छ । १९९७ मा पहिलो पटक र २०१३ मा नेपालले आयोजना गरेको थियो । प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । अभ्यासका लागि नेपाली टोली मंगलबार पोखरा प्रस्थान गर्ने तालिका छ ।