९ कार्तिक २०७८, मंगलवार

साफ च्याम्पियनसिप फुटबलको खेलतालिका परिवर्तन

डिप्लोम्याट खबर
५ भाद्र २०७८, शनिबार १७:३२

काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार निकालेको तालिकाअनुसार प्रतियोगिता अक्टोबर १ देखि १६ गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ मा खेल्नेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ मा प्रतिस्पर्धा गर्नेछन् ।

साफ च्याम्पियनसिपको लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा पोखरामा तयारी गरिरहेको छ ।

साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० मा हुनेछ । हाल बन्द प्रशिक्षणमा २८ खेलाडी रहेका छन् ।

प्रतिक्रिया : थप