GB Koirala Banner Ad New

नगरकोटको इतिहास बोकेको क्लब हिमालय बाइ एस होटल २५ औं वर्षमा

भक्तपुर । भक्तपुरको नगरकोट स्थित क्लब हिमालय रिसोर्टले २५ वर्ष पार गरेको छ । नगरकोट पर्यटकीय गन्तव्यकारूपमा विकास हुन थालेको शुरुआती दिनदेखि कै साक्षीका रुपमा रहेकोयो होटल एस होटल समूहले संचालन गर्दै आएको छ। नगरकोट भन्ने बित्तिकै क्लब हिमालयको नाम आइहाल्छ ।

यी दुई नाम त्यहाँका लागि पर्याय नै भइसकेको छ । आन्तरिक एवं बाह्य पर्यटकहरूको रोजाइमा पर्ने नगरकोटलाई नगरकोटका रूपमा विस्तार गर्ने तथा डेस्टिनेशन विकासमा समेत मुख्य भूमिका क्लब हिमालयको रहेको छ ।

होटल व्यवसायी योगेन्द्र शाक्य भन्छन्, भोलि यस्तो समय पनि आउला जब पर्यटकहरु नगरकोट मै बस्ने गरी आउने र साइट सिइङका लागि काठमाडौं जानेछन्, यसको सम्भावना देखिएकोछ।’

शाक्यको सम्झनामा सन् १९६०र७० मा अधिकांश हिप्पीहरु सूर्योदय हेर्नकै लागि अघिल्लो दिन नै टेन्ट, ह्यासिस (गाँजा) लिएर अनकंटार र नांगेडाँडा ‘बतासेडाँडा’ पुग्ने गर्दथे । रातभर गीत गाउँदै, नाच्दै समय कटाइ सकेपछि उनीहरु बिहान सूर्योदयको दृश्यावलोकन गर्थे ।

काठमाडौंको द रोयल होटल, सोल्टी, अन्नपूर्ण लगायतका होटलमा बस्ने पर्यटकहरू बिहान ३ बजे गाडी मार्फत डेढ घण्टाको कच्ची बाटो हुँदै ५ बज्नु अघिनै बतासेडाँडा पुर्यौइन्थ्यो । त्यतिबेला ब्रेकफास्ट बक्स समेत काठमाडौंबाट लिएर जानुपर्ने बाध्यता थियो ।

नगरकोट प्रतिपर्यटकको झुकाव देखेर एस होटलले सन् १९८० मा बतासेडाँडामा सुविधा सम्पन्न रिसोर्ट संचालनमा ल्याउने योजना बनाएको थियो । तरतत्कालिन शाही नेपाली सेनाको गुरिल्ला वेलफेयर ट्रेनिङका लागि बतासेडाँडादेखि महांकालडाँडा सुटिङ अभ्यास रेन्जकारूपमा प्रयोगका लागि लिने योजना बनाएको थियो ।

यसैले नगरकोटलाई पर्यटकीय गन्तव्यकारूपमा विकास गर्नमात्र नभएर बतासेडाँडामा रिसोर्ट स्थापना तथा संचालनमा ल्याउन सहज थिएन।
‘नगरकोटलाई पर्यटकीय गन्तव्यमा रुपान्तरणका गर्नका लागि तात्कालिन श्री ५ को सरकारलाई विश्वस्त पारेर सहयोग लिनका लागि धेरै मेहेनत गर्नुपरेको थियो,’ उनी सम्झन्छन् ‘तत्कालिन श्री ५ को सरकार र शाही नेपाली सेनाले विश्वासका आधारमा क्लब हिमालय संचालनका लागि म लगायत हङकङका लगानीकर्ता स्टानले केसी वङ, नेपाल माउन्टेनरिङ एशोसिएसनका तत्कालिन अध्यक्ष कुमार खड्गविक्रम शाहलाई अनुमति दिएको थियो ।’

क्लब हिमालय निर्माणका लागि विदेशी साझेदारी र दरबारका ज्वाइँसमेतको साझेदारीमा रहेकाले होटल निर्माणका लागि सेनाले ढिलै भए पनि सहमति दिएको उनको भनाइ छ ।

होटल निर्माणका लागि शाक्यसहितको समूहले सन् १९८८ मै जग्गा खरिद गरेका थिए । ५२ रोपनी क्षेत्रफलको डाँडा खरिद गर्न त्यो बेला शाक्यले प्रतिरोपनी ४२ हजार रुपैयाँ तिरेका थिए ।

शाक्य सम्झन्छन्, ‘त्यो बेला हामीले ४२ हजार प्रतिआना किन्दा त्यहाँका मान्छेहरू हामीलाई पैसा धेरै भएर यता आएछन् भन्थ्ये, किन भने त्यो बेला त्यस आसपासमा १ हजारदेखि १० हजारसम्ममा एक रोपनी जग्गा पाइन्थ्यो ।’

त्यो बेला त्यहाँ चारतारे होटल बनाउने भन्ने चानचुने चुनौती थिएन । किन भने बिजुली, टेलिफोन थिएन भने सडकको अवस्था पनि नाजुक थियो । नगरकोटका स्थानीयहरूको आयस्रोत भनेकै जंगलमा गएर दाउरा खोज्ने र भक्तपुरमा लगेर बेच्ने थियो । अहिले त्यहाँका मानिसहरूको आर्थिक अवस्था नै उथलपुथल भएको छ ।

ती चुनौतीहरूलाई पार लगाउँदै उनले होटल निर्माण गरी छाडे र नगरकोटको परिचय नै बदल्न सम्भव भयो । जग्गाको मूल्य ह्वात्तै बढेको छ भने पूर्वाधार विकास पनि राम्रो भएको छ । अहिले नगरकोटमा सुविधासम्म होटल तथा रिसोर्टहरू सञ्चालनमा आएका छन् ।

त्यहाँ अर्बौं रुपैयाँ लगानी भित्रिएको छ । एस होटल समूहद्वारा सञ्चालन तथा व्यवस्थापनका साथ अघि बढेको क्लब हिमालयलाई नगरकोटमा लगानी भित्र्याउने र पूर्वाधार निर्माण गर्ने पहिलो गेटका रूपमा लिने गरिन्छ ।
‘म अहिले पनि दाबी गर्छु कि क्बल हिमालय प्रवेश नगरेको भए नगरकोट अहिले सेनाको कब्जामै हुन्थ्यो, पर्यटकीय गन्तव्य बन्न पाउँदैन थियो’, सञ्चालक शाक्यले भने ।’

अहिले जहाँ क्लब हिमालय छ, त्यहाँ सुरुमा शाक्यको समूहले १९९३ मा टी हाउस सञ्चालनमा ल्याएका थिए । जग्गा विवादले होटल सञ्चालन गर्न तत्कालै नमिल्ने र अन्यौलता छाएपछि टी हाउसलाई पहिलो इन्ट्रीको माध्यम बनाएको थियो ।

जसले गर्दा नगरकोटमा जाने पर्यटकहरूलाई खाजा र खानाका लागि सहज बनाएको थियो । जग्गा खरिद गरेको करिब ६ वर्षपछि मात्र होटलको उद्घाटन गरिएको थियो । उनका दुवै साझेदारहरू भने माओवादी द्वन्द्वपछि बाहिरिसकेका छन् ।

२५ वर्ष पार गरेसँगै रिसोर्टले पर्यटकलक्षित सेवा सुविधालाई ध्यानमा राखेर आफ्नो क्षमता विस्तार गर्दै जाने योजना बनाएको यसका संचालक योगेन्द्र शाक्यले बताए। क्लब हिमालयको विस्तारसँगै समग्र नगरकोटलाई नै काठमाडौं आउने पर्यटकका लागि दोस्रो विकल्पका रूपमा रुपान्तरण गर्ने योजना रहेको उनले जानकारी दिए।

यो रिसोर्ट सन् १९९६ मे १४ मा ‘बुद्ध जयन्तीको दिन’ पारेर संचालनमा आएको थियो। त्यतिखेर रिसोर्टको उद्घाटन तत्कालिन पर्यटनमन्त्री चक्र बास्तोलाले गरेका थिए।

समुद्र सतहदेखि सात हजार दुई सय फीटको उचाईमा रहेको रिसोर्ट काठमाडौंदेखि ३२ किलोमिटर दुरीमा छ। रिसोर्टमा स्ट्याण्डर्ड, डिलक्स र डिलक्स प्रिमियम लगायत तीन प्रकारका प्राइभेट बाल्कोनीसहितका ६८ कोठा छन् ।

रिसोर्टमा इन्डोर हिटेड पुल, ज्याकुजी, अन्तर्राष्ट्रिय शैलीको बार तथा डाइनिङ, मल्टिपल सेमिनार हल लगायतका सेवा सुविधा छ । हरेक कोठाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन सहजै गर्न सकिने रिसोर्टले जनाएको छ।

सुरुमा होटलमा ४० वटा कोठा मात्र थियो । पछि लगानी विस्तार गर्दै कोठाको संख्या थपेको उनको भनाइ छ । क्लब हिमालय नगरकोटकै हब रहन सफल भएको दाबी उनको छ ।

विहानी झुल्के घाम होस या हिमालय पर्वतको मनोरम दृश्य नियाल्न सकिने यस होटलमा कोरोना महामारीका बेला पनि उच्च सुरक्षा सतर्कता अपनाएर ग्राहकलाई सेवा दिइरहेको थियो ।

‘क्लब हिमालयमा सुरक्षा मापदण्ड सधै उच्च प्राथमिकतामा रहेको छ, विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डले तोकेका दिशानिर्देशहरु सबै पालनाहुने गरी सेवाहरु वृद्धि गरेका छौं’ बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पाहुनाका लागि दिनु पर्ने सुविधाहरुमा हामी कुनै कमी राख्दैनौं, ‘पाहुनाहरुको सुविधाको लागि हामीले सेवाहरु बढाउँदै लल्कजरी भिलाज र कोठाहरु थप परिस्कृत बनाउने योजना बनाएका छौं ।’

साथै यतिखेर नगरकोटको पर्यटकीय विकास तथा विस्तारका लागि एस होटल, सीई समूह र बैंकिङ तथा पर्यटन व्यवसायी पृथ्वीबहादुर पाँडेको सहकार्यमा ‘द हब नगरकोट’ नाममा मल्टि–प्रोपर्टीको अवधारणामा एकीकृत पर्यटकीय आयोजना अगाडि बढाइएको छ ।

यो मेगा प्रोजेक्टका लागि यतिखेर गृहकार्य भइरहेको बताउँदै शाक्यले भने, ’यो हबमा पसल, सिनेमा हल, होटल तथा थुप्रै रेष्टुरेण्टहरु लगायतका परियोजनाहरु रहनेछन्।  पर्यटकहरु एयरपोर्टमा ल्याण्ड हुनेबित्तिकै नगरकोट जान सक्नेछन् ।’
द हब नगरकोटलाई हिमाल, पहाड, गाउँ, संस्कृति सबै कुराको एकै ठाउँमा सम्मिश्रणको झल्को दिने पर्यटकीय परियोजना बनाउने सोच छ ।