GB Koirala Banner Ad New

‘सत्ता मोहका कारण देशको भौगोलिक अखण्डता संकटमा’

–निरज रञ्जित
बिश्व मानचित्रमा कुनै पनि समयमा कसैका गुलाम नबनेको र सदैव वीर गोर्खालीको नामले चिनिने नेपालको भौगोलिक अखण्डतामा प्रश्न चिन्ह रु खडा भएको छ। हाम्रा पुर्खाले बचाएर राखेको नेपालको भुमि पछिल्ला दिनहरूमा भारतिय हस्तक्षेप बढ्नु भनेको राजनैतिक दलका नेताको सत्तामोह नै प्रमुख कारण भएको देखिन्छ ।

स्वतन्त्र र सार्वभौम मुलुको सरकार प्रमुख बन्ने कुरा होस वा दलिय स्वार्थ पूरा गर्ने बहानामा बिदेशी प्रभुको आशिर्बाद प्राप्त गर्ने र शक्ति सन्तुलन कायम गर्ने होडबाजिमा राजनैतिक दलका नेताकै कारण देशको भौगोलिक स्वरूप गुम्ने खतरा उत्पन्न भएको तितो सत्य कसैका अगाडि छिपेको छैन।

नेपालको राजनैतिक इतिहासमा लामो समय राणाहरूले राज्य संचालन गर्दा पनि देशको भौगोलिक स्वरूपलाई जोगाउन जंगे पिल्लर गाडेर देशको सिमाना कायम गर्न सफल भएको तथ्य हाम्रा अगाडि छर्लंगै देखिन्छन् । ६० को दशकमा भारत–चीन बिच युद्ध हुँदा नेपालको हिमाली नाकामा भारतीय सेनाले सैनिक अखडा बनाएको र देशमा प्रजातन्त्र प्राप्ति पश्चात् अर्थात २०२७/०२८ सालमा पछि भारतीय सेनालाई नेपाली भुमिबाट हटाइएको इतिहास सुनेका थियौं ।

तर चीनसँगको युद्धकालिन संबेदनसिलताका कारण लिपुलेक र कालापानीका हकमा भने भारतीय सेनाले नेपाली भुमि कब्जा गरि बसेको र उक्त स्थानमा नेपालीको खासै बसोबास नभएको र बस्ति क्षेत्रबाट धेरै टाढा रहेका कारण नेपाली राजनैतिक नेतृत्वले खासै चासो नराखेको र पछि जननायक वी.पी.कोइराला प्रधानमन्त्री भए पश्चात् बिक्रम सम्बत २०१६ सालमा चीनसँग जोडिएका नाका सम्बन्धि बिषयमा चीन सरकारसँग छलफल गरि चीनसँगका सिमा बिबाद समाधान गर्दै सगरमाथा नेपालको भएको प्रमाण पुष्टि गरेका थिए ।

कालापानी,लिम्पियाधुरा र लिपुलेक चीनसँगको सुरक्षा दृष्टिकोणले भारतीय सिमा सुरक्षाको अत्यन्त सम्बेदनशिल क्षेत्रका रूपमा हेरिन्छ जुन भुमि नेपालको नक्सा भित्र पर्दछ। उक्त क्षेत्र नेपालको हो भन्ने बुझ्दा बुझ्दै चार बर्ष अगाडि मात्रै लिपुलेकलाई ब्यापारीक केन्द्र स्थापना गर्ने सम्झौता चीन र भारतले गरेका छन ।

उक्त क्षेत्र नेपाली भुमि भित्र पर्ने कुरा दुबै मुलुकलाई थाहा हुँदाहुँदै दुई देश वीच सम्झौता हुनु नेपाल प्रति दुबै मुलुकको हेपाहा प्रबृत्ति नै हो भन्न हिच्किचाउन हुदैन । तथापी राजा महेन्द्र शाहका पालामा तत्कालीन गृह मन्त्रीले भारतीय क्याम्प खडा गरेर बसेको ब्यहोरा जानकारी गराउदा राजाले समेत उक्त क्षेत्रलाई बेवास्ता गरेर भारतलाई स्वतन्त्र सैनिक गतिविधि गर्न दिइएको बुझिन्छ तर २०४६ पश्चात् नेपाली जनताको जागरूकताका कारण उक्त क्षेत्रमा नेपालको सामिप्यता बढेको र कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै हो भनी प्रमाणित भैसकेको छ ।

उक्त क्षेत्र नेपालकै हो भन्ने बुझ्दा बुझ्दै पनि भारतले हालै प्रकाशित गरेको नक्सामा उसको देशमा गाभ्नु हामी स्वाभिमानी नेपालीका लागि सहैय हुने कुरा होइन । नेपालका धेरै भुभाग हस्तक्षेपका कारण गुमाउनु परेको समाचार प्रायस् पछिल्ला दिनहरूमा धेरै सुनिन्छ। एउटा सार्वभौम मुलुकको सिमा मिचिने कुरा सामान्य हुँदै हैन ।

नेपाल बिश्व मानचित्रमा सानो होला,जनसंख्या कम होला तर स्वतन्त्र र सार्वभौम मुलुक हो। तसर्थ यो मुलुकलाई देश र जनतालाई माया गर्ने राजनेता चाहियो । नेपालको कार्यकारी प्रमुख बन्न बिदेशी प्रभुको आशिर्वाद लिने र छिमेकीका अगाडि घुडा टेक्ने वा डराउने दल वा सरकार हामीलाई चाहिदैन । नेपाल आमाको रक्षा नेपाल आमाको सन्तानले मात्र गर्छ अरूले हैन । बिदेशी प्रभुका अगाडि झुक्ने र देशको सार्वभौमिकता र भौगोलिक अखण्डता कायम गर्न नसक्ने दल र सरकार हामीलाई चाहिदैन।